मार्क्सवादी स्कूल : दर्शनका २ आधारभूत प्रश्न के–के हुन् ?

मनहरि तिमिल्सिना
काठमाडौं।दर्शन संस्कृत भाषाको दृश् धातुबाट बनेको हो, जसको अर्थ हुन्छ, हेर्नु र बुझ्नु। दर्शनशास्त्र ग्रीक भाषाको (Phellio) फेलियो र (Sophia) सोफिया शब्दबाट बनेको हो। Phellio को अर्थ अनुराग वा प्रेम र Sophia को अर्थ ज्ञान भन्ने हुन्छ। यसरी हेर्दा शाब्दिक रुपमा दर्शनशास्त्रको अर्थ ज्ञानप्रतिको प्रेम भन्ने हुन आउँछ। Philosophy शब्दको पहिलो प्रयोग गणितशास्त्री पाइथोगोरसले गरेका हुन्।

दर्शनशास्त्र धेरै गहन विषय हो। मानव जातिको उत्पत्ति र विकासको सम्पूर्ण श्रृङ्खला नै दार्शनिक दृष्टिकोणका वरिपरि घुमिरहेको हुन्छ। दर्शनशास्त्रले कुनै पनि वस्तु, प्रकृति, घटना र समाजलाई हेर्ने, बुझ्ने र जाँच्ने काम गर्दछ। विश्व ब्रह्माण्डमा भएका सम्पूर्ण वस्तुहरुको विवेचना गर्नु र त्यसका आधारमा भविष्यको गन्तव्य तय गर्नु दर्शनशास्त्रको आधारभूत काम हो। कार्ल मार्क्सका अनुसार जीवन र जगतलाई बुझ्नु र बदल्नु दर्शनशास्त्रको आधारभूत कार्यभार हो।

(क) विश्व दृष्टिकोण के हो ? — कुनै पनि वस्तु, घटना र समाजलाई हेर्ने नजरलाई दृष्टिकोण भनिन्छ। त्यही आधारमा विश्वका सारा वस्तु र घटनाहरुको अध्ययन गर्ने प्रक्रियालाई विश्वदृष्टिकोण भनिन्छ। विश्व दृष्टिकोण मूलतः २ प्रकारको हुन्छ, १. भौतिकवाद, २. आदर्शवाद। राज्यको उत्पत्तिपूर्व विश्व ब्रह्माण्डका प्रत्येक वस्तुहरु भौतिकवादी दृष्टिले हेरिन्थ्यो। जब वर्गको उदय भयो, त्यसले राज्यको उत्पत्ति अनिवार्य बन्न गयो। त्यही राज्यको उत्पत्ति नै यस्तो कडी बन्न पुग्यो, जसले चिन्तनलाई पनि २ धारामा विभक्त गर्‍यो।

एउटा चिन्तन वा दृष्टिकोणले भन्छ, विश्वका सबै वस्तुहरु गतिशील छन्, परिवर्तनशील छन्। वस्तुको अन्त्य हुँदैन। तर, गतिका कारण वस्तुको स्वरुप फेरिन्छ, शक्तिमा रुपान्तरण हुन्छ। तर, अर्को दृष्टिकोणले भन्छ, विश्वका वस्तुहरु गतिहीन छन्, यिनीहरु कहिल्यै एउटा शक्तिबाट अर्को शक्तिमा बदलिँदैनन्। कुनै अलौकिक शक्तिका कारण यिनीहरु ब्रह्माण्डभित्र अस्तित्वमा छन्। यी २ दार्शनिक चिन्तनलाई नै २ विश्वदृष्टिकोण भनिन्छ।

(ख) पदार्थ प्राथमिक हो कि चेतना ? — दर्शनशास्त्रका २ आधारभूत प्रश्नमध्ये पहिलो प्रश्न हो, पदार्थ पहिलो हो कि चेतना ? यही प्रश्नको वरिपरि नै विश्वको दार्शनिक बहस केन्द्रित हुँदै आएको छ। समग्र मानव जातिको इतिहासमा पदार्थ र चेतनाको प्राथमिकता नै मूख्य बहस र विवादको केन्द्र रहँदै आएको छ। वैज्ञानिकहरुले पदार्थकै कारण ब्रह्माण्ड र मानव जातिको उत्पत्ति भएको मान्दछन्, जुन कुरा धर्मगुरु, पादरी, पूरोहित र आदर्शवादका हिमायतीहरु मान्दैनन्।

भौतिकवादले भन्छ, ‘पदार्थ नै पहिलो हो। पदार्थबाट नै चेतनाको निर्माण हुन्छ।’ प्रविधिको आजको युगमा मानिसले जे–जति वैज्ञानिक आविश्कार गरेको छ, ती सबै पदार्थकै परिणाम हुन्। पदार्थ नभइकन चेतनाको खास मूल्य हुँदैन। पदार्थकै कारण चेतनाको उत्पत्ति र विकास भएको हो। चेतनाले पदार्थको उत्पत्ति गर्न सक्दैन। तर, विकसित चेतनाले पदार्थलाई नयाँ उचाइमा उठाउन, विज्ञानका नयाँ–नयाँ आविश्कार गर्न र पदार्थको बहुआयमिक उपयोगितामा सहयोग पु¥याउन सक्छ। यही दार्शनिक दृष्टिकोणलाई भौतिकवाद भनिन्छ।

आदर्शवादले भन्छ, ‘विश्वका सारा वस्तुहरु चेतनाका उपज हुन्। चेतनाले नै पदार्थको निर्माण गरेको हो।’ आदर्शवादी दृष्टिकोणमा कुनै अलौकिक शक्तिले नै विश्व ब्रह्माण्ड र पृथ्वीको उत्पत्ति गरेको हो। मानिस पनि त्यसैको उपज हो। पृथ्वीमा जे–जति वस्तु र परिघटना छन्, ती सबै दैवका लीला हुन्। ईश्वर वा कुनै अलौकिक एवं अदृश्य शक्तिलाई नै मूख्य मान्ने दार्शनिक चिन्तनलाई आदर्शवाद भनिन्छ।

(ग) के जगत वोधगम्य छ ? — दर्शनशास्त्रको दोस्रो आधारभूत प्रश्न हो, के विश्व ब्रह्माण्डलाई बुझ्न सकिन्छ ? जीवन र जगतलाई बुझ्न सकिन्छ कि सकिँदैन ? भन्ने बहसमा भौतिकवादले बुझ्न सकिने मान्यता राख्दछ। तर, आदर्शवादले बुझ्न सकिँदैन भन्छ। भौतिकवादले जीवन र जगत पदार्थले बनेका कारण यसलाई बुझ्न सकिने मान्यता राख्दछ। आदर्शवादले ब्रह्माण्ड, पृथ्वी र मानव जाति अलौकिक शक्ति वा ईश्वरले बनाएकाले त्यसलाई मान्छेले बुझ्न नसक्ने मान्यता राख्दछ।

ब्रह्माण्ड धेरै विशाल छ, विश्व ब्रह्माण्डमा सौर्यमण्डल, अनगिन्ती ताराहरु, ग्रहहरु, पिण्डहरु रहेका छन्। ती सबैमाथि विज्ञानले आफ्नो अन्वेषण जारी राखेको छ। भौतिकवादले विशाल ब्रह्माण्डको अन्वेषणका लागि समय लाग्ने र त्यसका लागि वैज्ञानिक अनुसन्धानको खाँचो औल्याउँदछ। तर, आदर्शवादले विश्वलाई मान्छेले बुझ्न नसक्ने र अलौकिक शक्तिले नै चलाउने हुँदा अन्वेषणको दुख नगर्न भन्छ।

(घ) भौतिकवाद र आदर्शवाद — विश्वका सबै वस्तु, घटना, मानव जाति पदार्थले बनेको र यिनलाई बुझ्न नसकिने मान्यता राख्ने दार्शनिक चिन्तन नै भौतिकवाद हो। Matter अर्थात् भौतिक वस्तुलाई पहिलो मान्ने भएकाले यसलाई भौतिकवाद भनिएको हो। भौतिकवादले आज विज्ञानले पत्ता लगाउन नसकेका कुराहरु पनि भविष्यमा अन्वेषणका क्रममा पत्ता लाग्ने कुराको वकालत गर्दछ।

तर, आदर्शवाद यसको ठीक विपरित छ। आदर्शवादलाई अध्यात्मवाद पनि भनिन्छ। आदर्शवादले व्रह्माले नै सृष्टिको रचना गरेको मान्यता राख्दछ। आदर्शवादका आँखामा पृथ्वीका सबै ग्रह, उपग्रह, पिण्ड र सारा वस्तुहरु ईश्वरको देन हुन्। ईश्वरले चाहेमा कुनै पनि दिन यी सबै कुरा नासिदिन सक्छन्। मानिस पनि ईश्वरको सिर्जना हो, ईश्वरले उसलाई पृथ्वीमा विचरण गर्न मात्र पठाएका हुन्। यसरी हरेक वस्तुलाई जान्ने र बुझ्ने अभिभारालाई अदृश्य शक्तिको थाप्लोमा हालेर आफू उम्किने दार्शनिक चिन्तन नै आदर्शवाद हो।

(ङ) निष्कर्ष – जतिबेला आदिम साम्यवादी समाजको पतन भएर दास युगको प्रारम्भ भयो, त्यसले समाजलाई वर्गहरुमा बाँडिदियो। कन्दमूल र जीवजन्तुको शिकार खोस्न सक्नेहरु क्रमशः बलशाली बन्दै गए, नसक्नेहरु कमजोर। दास युगबाट सुरु भएको वर्ग विभाजन आजपर्यन्त विश्वव्यापी रुपमा कायम छ।

दर्शनशास्त्रको २ आधारभूत प्रश्न राजनीतिमा शासक र शाषित वर्गको वर्गीय चिन्तनका रुपमा देखा पर्दछ। शासक वर्गले आफूले प्राप्त गरेको ऐसआराम पूर्वजन्मको फल भएको र सर्वहारा वर्गलाई पनि अहिले शासकहरुको आदेश मानेर पूनर्जन्ममा धनी, बलशाली र शक्तिशाली हुन उपदेश दिन्छ। यसले यी सारा कुरा सृष्टिबाट प्राप्त गरेको भ्रम छर्दछ र आफ्नो सत्ताविरुद्ध आउने अवरोधहरु पन्छाउने कोशिस गर्दछ।

यता सर्वहारा वर्गले यसलाई मान्दैन। मानव जातिका बीच हुने विभेद वा अन्याय पूर्वजन्मको फल होइन, यो त शासक वर्गको शोषणको उपज मात्र हो। धर्म, ईश्वर लगायतका काल्पनिक तथ्य श्रमिक वर्गलाई दमनमा राख्ने नियोजित षड्यन्त्र अस्त्र मात्र हुन्। ईश्वर, अलौकिक शक्ति, पूर्वजन्म, पूनर्जन्म, स्वर्ग, नर्क, पाप, पुण्य, धर्मजस्ता मान्यता शासकहरुले आफ्नो सत्ता टिकाउन खडा गरेका काल्पनिक तथ्यहरु हुन्। तसर्थ, वर्गसत्ताको अन्त्य र मानव जातिको पूर्ण मुक्तिका लागि आदर्शवादमाथि भौतिकवादको विजय अनिवार्य हुन्छ।