चीनद्वारा तयार कोरोनाको खोप नेपालमा परिक्षण गर्ने अन्तिम तयारी

काठमाडौं । चीनले बनाएको कोरोना विरुद्दको खोपको परिक्षण नेपालमा गर्ने अन्तिम तयारी भएको छ ।

तेस्रो तथा अन्तिम क्लिनिकल परिक्षणका लागी चीनले नेपालसँग मागेको अनुमतिका आधारमा चिनियाँ लगानीमा संचालित होङ्सी सिमेन्टमा कार्यरत कर्मचारी तथा मजदुरहरुमाथि परिक्षणको तयारी भएको हो ।

होङ्सी सिमेन्टमा कार्यरत मजदुरहरुमा परिक्षणको अनुमति चीनले मागेबमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति प्रदान गर्ने अन्तिम तयारी गरेको हो ।

झण्डै ५ सय मजदुरमा परिक्षणका लागी चिनियाँ दुतावास हुँदै स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयमार्फत यस्तो अनुमति माग भएको बताइएको छ ।

नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म सिनोभ्याक्सु नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ।

परीक्षणअघि परिषदले गठन गरेको एथिकल कमिटीबाट कम्पनीले स्वीकृति लिनुपर्ने हुन्छ। परीक्षण गरिने औषधि कम्पनीले परीक्षण गरिने व्यक्तिमा कुनै प्रकारको जटिलता देखिए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ।

चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्।